दुलेगौंडा। शिवरात्रीको अवसरमा फागुनको दोस्रो साता शुक्लागण्डकी–११ साँखेमा महायज्ञ हुने भएको छ । साँखे देवल स्थित श्री शिवालय मन्दिरलाई धार्मिक धामको रुपमा विकास गर्ने र शिवालय मन्दिरको पुनःसंरचना गर्ने मुल उदेश्यले फागुन ८ गतेदेखि फागुन १५ गतेसम्म महायज्ञ हुन लागेको हो ।
शिवालय मन्दिर व्यवस्थापन समितिको मुख्य आयोजनामा हुने महायज्ञमा कथा वाचक पण्डित कपिल भट्टले कथा वाचन गर्ने विहिवार साखेमा आयोजित पत्रकार सम्मेलनमा संयोजक गंगाराम भट्टराईले जानकारी दिए । सो अवसरमा देवलिला , जनचेतना मुलक नाटक प्रस्तुती सहित संगीतमय कथा प्रवचन साथै हरेक दिन साँझ पितृ उद्धार श्रृङ्गरिक महा आरती हुने उनले बताए । फागुन १४ गते महाशिवरात्रीको दिन बेलुका विशेष शिव ताण्डवसहित अखण्ड दीप प्रज्वलन र जाग्राम कार्यक्रम समेत समावेश गरिएको मुल समारोह समितिका महासचिव कमलराज पौडेलले बताए ।

पत्रकार सम्मेलनमा शुक्लागण्डकी नगरपालिका वडा नं. ११ का अध्यक्ष शालिकराम भट्टराईले महायज्ञलाई सफल पार्न सबैलाई अनुरोध गरे । वडा नं. १० का अध्यक्ष राजेन्द्र भट्टराई क्षेत्रीले तीन वडाको संगमस्थलमा हुन लागेको महायज्ञले स्थानीयको एकता झल्काउने उल्लेख गरे । शिवलाय मन्दिर व्यवस्थापन समितिका अध्यक्ष निल कण्ठ अर्यालले मन्दिरको पृष्ठभूमिबारे जानकारी दिएका थिए । महायज्ञ उद्घाटनपूर्व फागुन ८ गते मन्दिर परिसरबाट भक्तजनहरुको सहभागितामा विहान ९ बजेदेखि कलश तथा शोभायात्राले बाजागाजा, झाकी तथा र्यालि सहितले नगर गाउँ परिक्रमा गर्नेछ । “महा शिवरात्री धार्मिक महोत्सव–२०८१”को सचिवालयको पनि विहिवारै उद्घाटन गरिएको छ ।
