दुलेगौंडा । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदिप पौडेलले विद्यालय तहमा स्वास्थ्य तथा जनसङ्ख्या शिक्षा ऐच्छिक नभइ अनिवार्य गनुपर्ने आजको आवश्यकता रहेको बताए । सोमबार पञ्चमुनिदेव माध्यमिक विद्यालयको ५५ औं बार्षिकोत्सव तथा अभिभावक दिवस समारोहलाई सम्बोधन गर्दै पौडेलले मानिस सुखी र खुसी हुने प्रमुख आधार स्वास्थ्य रहेको हुदाँ विद्यालय तहदेखि नै विद्यार्थीहरुलाई स्वास्थ्य शिक्षाबारे जानकारी गराउनका निम्ति स्वास्थ्य तथा जनसङ्ख्या शिक्षालाई अनिवार्य गरिनुपर्ने बताए । यसलाई व्यवहारीक रुपमा लागु गर्नका निम्ति शिक्षा मन्त्रालय, पाठ्यक्रम विकास केन्द्रसंग समन्वय गरिरेहेका बताए ।
कुनै पनि राष्ट्रिको विकास कति भएको छ भन्ने कुरा उक्त देशमा रहेका नागरिकको स्वास्थ्य स्थितीले उजागर गर्ने हुदाँ स्वास्थ्य क्षेत्रलाई प्रभावकारी ढङ्गबाट अगाडि बढाइएको मन्त्री पौडेलले बताए । साथै उनले देशकै माटोमा रमाउने सक्ने र स्थानीय स्रोत साधनलाई परिचालन गर्न सक्ने शिक्षा प्रदान गर्नु आजको प्रमुख आवश्यकताको बिषय रहेको बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेश सरकारका पूर्व अर्थमन्त्री जीतप्रकाश आले, शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डित, प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लाम्गादे, वडाध्यक्ष राजकुमार वाग्ले, पूर्व प्रधानाध्यापक धु्रवकुमार मल्ल, शिक्षाप्रेमी शेषमणी आचार्य, रघुनाथ पौडेल, युवा अभियान्ता शंकर पन्त,विद्यालयका प्रधानाध्यापक एकनारायण भण्डारी, विद्यालयका सहायक प्रधानाध्यापक विमल जोजिजु लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा विद्यार्थीको तर्फबाट सदीक्षा पुरीले विद्यार्थीको तर्फबाट मन्तव्य राखेकी थिइन् भने विद्यालयको शिक्षक राजेन्द्र लम्साल र टुकादेवी आचार्य पौडेलले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।
विद्यालयको बार्षिकोत्सवमा विद्यार्थीहरुले शैक्षिक सामग्री प्रदर्शन, संस्कृतिक नृत्य प्रदर्शन, विभिन्न प्रकारका परिकारहरु बनाउनुका साथै विक्री वितरण समेत गरेका थिए । विद्यालयको बार्षिकोत्सव कार्यक्रममा चर्चित गायिका एलिना चौहानले आफ्नो संगीतिक प्रस्तुति राखेकी थिइन् ।