दुलेगौंडा ।तनहुँको शुक्लागण्डकी नगरपालिका–३ कवासेमा रहेको शहीद कृष्ण माध्यमिक विद्यालयको ३१ औं बार्षिकोत्सव, अभिभावक दिवस तथा शहीद सप्ताह समारोह सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले विद्यालयले विस्तारै सफलताका खुड्किला पार गर्दै अगाडी बाढीरहेको बताए । विद्यार्थीहरुलाई कोरा किताबि ज्ञान मात्रै नभई सामाजिक गतिविधि र अतिरिक्त क्रियाकलायमा पनि सक्रिय रुपमा लागि पर्न आग्रह गरे । नगरले शैक्षिक बर्षलाई सफल बनाउनका निम्ति अगाडि बढिरहेको हुदाँ नगर भित्रका विद्यालयहरुले पनि विद्यार्थीको शैक्षिक क्षमता अभिवृद्धि गर्न लागि पर्नुपर्ने बताए ।
कार्यक्रममा बोल्दै शुक्लागण्डकीका उपप्रमुख खुमबहादुर विक राजुले वार्षिकोत्सव कार्यक्रम रमाइलो तरिकाले मात्रै नभई शैक्षिक सुधारका निम्ति योजना बनाइ अगाडि बढ्ने उत्सवका निम्ति मनाउनुपर्नेमा जोड दिए । साथै हरेक विद्यार्थीमा व्यक्तिगत क्षमता हुने हुदाँ विद्यार्थीको क्षमता अनुसारको शिक्षण गर्न जोड दिए ।
विद्यालयले चुनौतिका बिचमा विद्यालयको शैक्षिक स्तर वृद्धि गर्न निरन्तर रुपमा अगाडि बढिरहेको शुक्लागण्डकी–३ का वडाध्यक्ष सचिन भुजेलले बताए । हरेक विद्यार्थीले निःशुल्क शिक्षा लिन पाउनुपर्ने अधिकारको संरक्षण गर्नका निम्ति विद्यालयले सहयोगी भुमिका निर्वाह गरेको बताए ।
विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष युवराज श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा विव्यस सदस्य तिर्थराज गर्तौला, युवा अभियान्ता शंकर पन्त, शिक्षाप्रेमी मोतिप्रसाद पौडेल, ब्रम्हाकुमारी विद्यालयका रमा बराल लगायतले बोलेका थिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राजनप्रसाद खनालले विद्यालयको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने विद्यार्थीको तर्फबाट रोशनि पुन र शिक्षकको तर्फबाट आशा पौडेलले मन्तव्य राखेका थिए । विद्यालयका सहायक प्रधानाध्यापक भरत पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।
शहीद कृष्ण माध्यमिक विद्यालयमा करिब ३ सय विद्यार्थि रहेका छन् । यहाँ अङ्ग्रेजी माध्यममा क्रक्षा १० सम्म पठनपाठन भइरहेको छ ।