दुलेगौंडा । शुक्लागण्डकी नगरपालिकालाई बालमैत्री स्थानीय तह घोषणा गर्न प्रतिबद्धता पत्रमा हस्ताक्षर गरिएको छ । नगरपालिकाले जनप्रतिनिधी, राजनितीक दलका प्रतिनिधी, समाजसेवि, शिक्षक, विद्यार्थी र विद्यालय सञ्चालनकका प्रतिनिधी सहित सरोकार वालाहरुलाई दुईदिने प्रशिक्षण कार्यक्रम गरेर प्रतिबद्धता पत्रमा हस्ताक्षर गरिएको हो ।
शनिबार नगर प्रमुख कृष्णराज पण्डित सहित नेपाली काँग्रेस शुक्लागण्डकीका उपसभापति कृष्णप्रसाद रेग्मी, नेकपा एमाले शुक्लागण्डकीका उपाध्यक्ष लोकनारायण श्रेष्ठ, नेकपा माओबादी केन्द्र शुक्लागण्डकीका वरिष्ठ उपाध्यक्ष रामचन्द्र भण्डारी, राष्ट्रिय स्वतन्त्र पार्टीका यज्ञबहादुर महत, नेकपा एकिकृत समाजबादी पार्टी शुक्लागण्डकीका अध्यक्ष रामबहाद्र थापा र शुक्लागण्डकी बाल सञ्जालका अध्यक्ष निश्चल गौतम लगायतले बालमैत्री शासन भएको नगर बनाउन प्रतिवद्धता ब्यक्त गरेका थिए ।
नगरपालिकामा बालमैत्री शासन घोषणा गर्ने तयारीका लागि हालसम्म २५ बढी सुचकहरुसँग सम्वन्धित कार्यक्रम सञ्चालन भईरहेका छन् भने बाँकी सुचकहरु पुरा गर्न कार्यक्रम सञ्चालन गर्ने तयारी भईरहेको छ । बालमैत्री स्थानीय तह घोषणाका लागि सरकारले तय गरेको ५१ सुचक पुरा गर्नुपर्ने सामाजिक विकास शाखा प्रमुख युवराज पौडेलले जानकारी दिए ।