दुलेगौंडा । तनहुँको प्रसिद्ध धार्मिक स्थलमा मुक्तिनाथ शुक्लागण्डकी च्यवन धाममा जिल्लाभित्रका योग शिक्षकको भेटघाट कार्यक्रम सम्पन्न भएको छ । पतञ्जलि नगर योग समिति शुक्लागण्डकीको आयोजनामा योग शिक्षक भेटघाट तथा दिव्य भोज कार्यक्रम गरिएको हो ।
कार्यक्रममा बोल्दै शुक्लागण्डकी नगरपालिकाका नगरप्रमुख कृष्णराज पण्डितले तनाब व्यवस्थापन गर्न योगको महत्त्वपूर्ण भुमिका रहेको बताए । ‘हामी पछिल्लो समय सहर केन्द्रीत हुदै छौ । परिवारको, व्यापार व्यवसायको व्यवस्थापन गर्दा शारीरिक र मानसिक तनाब बढी छ । यसलाई व्यवस्थापन गर्न योगले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ’ उनले भने । साथै उनले योग समितिलाई आवश्यक पर्ने स्रोत साधन उपलब्ध गराउन नगर प्रतिबद्ध रहेको बताए ।
समितिका अध्यक्ष एकनारायण गौतमको सभापतित्वमा सम्पन्न कार्यक्रममा मेयर पण्डित साथमा पतञ्जलि योग समिति गण्डकी प्रदेशका संयुक्त प्रभारी दिपक राज सिग्देल, प्रदेशका महामन्त्री गणेश आचार्य, मन्त्री विश्व मणि तिवारी, कोषध्यक्ष उषा गोशाली, प्रदेश सदस्य तिर्थप्रसाद अधिकारी, पतञ्जली योग समिति तनहुँका अध्यक्ष मानबहादुर आले, पतञ्जलीका तनहुँ जिल्ला महिला प्रभारी पार्वती पौडेल, पुरुष प्रभारी ऋतु भुवाइ लगायतले मन्तव्य राखेका थिए भने पतञ्जली योग समिति शुक्लागण्डकीका महामन्त्री बालकृष्ण विकले कार्यक्रम सञ्चालन गरेका थिए ।