दुलेगौंडा । शुक्लागण्डकी नगरपालिका क्षेत्रभित्र अव्यवस्थित फुटपाथ तथा घुम्ति व्यवसाय सञ्चालन गर्न निषेध गरिएको छ । शुक्लागण्डकी नगरपालिका र शुक्लागण्डकी नगर उद्योग बाणिज्य संघको संयुक्त पहलमा अव्यवस्थित घुम्ति व्यवसाय सञ्चालनमा निषेध गरिएको हो ।
अव्यवस्थित फुटपाथ तथा घुम्ति व्यवसायीको कारणले सटर भाडा र कर तिरेर बसेका व्यवसायीहरु प्रत्यक्ष मारमा परेको हुदाँ नगरभित्र उक्त किसिमका व्यवसाय सञ्चालनमा निषेध गरिएको शुक्लागण्डकी नगर उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष सुमन सापकोटाले बताए । उनका अनुसार नगरभित्रका स्थानीय कृषि उत्पादन बाहेक अन्य व्यवसाय सञ्चालनमा रोक लगाइएको छ ।
पहिलो चरणमा सम्पूर्णलाई सचेत गराउदै सूचना टाँसिएको र सूचना पछि पनि बेवास्था गरेर व्यवसाय सञ्चालन गरे सामान नै जफत गर्ने बरिष्ठ उपाध्यक्ष सापकोटाको भनाइ छ ।
व्यवस्थित रुपमा भाडा र क तिरेर बसेका व्यवसायीको संरक्षणका निम्ति यो पहलिकदमा चालिएको शुकलागण्डकी नगर उद्योग बाणिज्य संघ वडा व्यवस्थापन समिति ४ का अध्यक्ष बालकृष्ण विकले बताए । उनका अनुसार नगरपालिका र संघको निर्णय अनुसार नै आफूहरुले आफ्नो क्षेत्रभित्र सूचना टाँस गरेको बताए ।