दुलेगौंडा । शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघले तनहुँका विभिन्न कार्यालय प्रमुखलाई सोमवार स्वागत तथा परिचयात्मक कार्यक्रम गरेको छ । शुक्लागण्डकी नगरपालिकाको सभाहलमा तनहुँका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी श्याम बहादुर थापा, जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरिक्षक विरेन्द्र बहादुर शाही र दङ्गा नियन्त्रण प्रहरी गण गण्डकीका प्रमुख प्रहरी उपरिक्षक गजुसिद्ध बज्राचार्यलाई स्वागत गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी थापाले जनताको सेवा प्रवाहलाई प्रभावकारी बनाएर आफूले काम गर्ने बताए । उनले पछिल्ला समयमा आर्थिक मन्दिको असर व्यवसायमा परेको बताउदै उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिए ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरिक्षक विरेन्द्र बहादुर शाहीले शान्ति सुरक्षाका साथै सरोकारवालासँग समन्वय गरि काम गर्न तयार रहेको उल्लेख गरे ।
नगर उद्योग वाणिज्य संघका अध्यक्ष समुन्द्रराम श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत बरिष्ठ उपाध्यक्ष सुमन सापकोटा, सञ्चालन सचिव सुजन श्रेष्ठले गरेका थिए ।