दुलेगौंडा । वुमन फर वुमन फाउण्डेसन नेदरल्याण्ड र वाइल्ड गान्जेन फाउण्डेसनको सहयोगमा शुक्लागण्डकी नगरपालिकाले महिलाहरुको निशुल्क पाठेघरको परीक्षण तथा उपचार शिविर सञ्चालन गरेको थियो । नगरभित्रका ५३३ जना महिलाको स्वास्थ्य परीक्षण गर्दा २५९ जनामा पाठेघरको समस्या देखिएको छ ।
शिविरमा ३८ जना महिलालाई रिङ लगाइएको र ८ जनालाई अप्रेसनको लागि सिफारीस गरिएको शुक्लागण्डकी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ढालबहादुर थापाले जानकारी दिए । उनका अनुसार सिफारीस गरिएका बिरामीको चिर मेमोरियल हस्पिटल बनेपामा निशुल्क अप्रेसन हुने छ ।
नगर भित्रको १२ वटा वडामा शिविर सञ्चालन गर्दा महिलाहरुमा पाठेघर सम्बन्धी समस्या बढ्दो क्रममा देखिएको शुक्लागण्डकी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ढालबहादुर थापाले जानकारी दिए । ‘अहिले अधिकांश महिलाहरुमा पाठेघर सम्बन्धी समस्या देखा परेको छ । पठेघर महिलाको संवेदनशील ठाउँ पनि हो । महिलाले आफ्नो पाठेघरको सुरक्षा आफै गर्न नसक्दा र स्वास्थ्यमा ख्याल नगर्दा यस्तो समस्या देखा परेको हो । अहिलेको स्थितीलाई हेर्दा हामीले पाठेघर सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक देखेका छौं, सोही अनुसार अगाडी बढ्ने योजना बनाउदै छौं’ उनले भने ।