दुलेगौंडा । नेपालीहरूको महान् पर्व बडादशैं आज बिहीबारदेखि शुरू भएको छ। आश्विन शुक्ल पक्ष प्रतिपदाका दिन बिहीबार बिहान घरघरमा जौ, मकै, गहुँ आदिको जमरा राखी घटस्थापना गरेपछि यसपालिको दशैं शुरू हुनेछ।
धेरैले बिहानको समयमा घटस्थापना गर्ने भए पनि साइतै खोज्नेहरूका लागि भने नेपाल पञ्चांग निर्णायक विकास समितिले घटस्थापनाका लागि बिहान ९ बजेर १६ मिनेटको शुभसाइत तोकेको छ ।
समितिका अनुसार असोज २६ गते शनिवारका दिन विजया दशमीकादिन देवी विसर्जन गरी प्रसादस्वरूप टीका लगाउने गरिन्छ। यस वर्ष दशैंको टीकाको उत्तम साइत बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ।