दुलेगौंडा । एग्बोसा काठमाण्डौं तथा सूर्य नेपाल प्रालिको आयोजना भएको निशुल्क स्वास्थ्य शिविरबाट ८ सय ८६ जना लाभान्वित भएका छन् । स्थानीयको स्वास्थ्यलाई मध्यनजर गर्दै प्रलिले संस्थागत सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्र्तगत रहेर शुक्लागण्डकी–७ सेराटार स्थित कुश्मावति माध्यमिक विद्यालयमा उक्त शिविर सञ्चालन गरिएको थियो ।
स्वास्थ्य शिविरमा शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकाका अधिकांश ग्रामिण भेगका मानिसहरुले स्वास्थ्य सेवा लिएको सुर्य नेपाल प्रालिका कारखाना व्यवस्थापक बाबुराम कार्कीले बताए ।
शिविरमा विर अस्पताल, गण्डकी मेडिकल कलेज, टिचिङ्ग अस्पतालमा कार्यरत ५० जनाभन्दा बढी वरिष्ठ विशेषज्ञ चिकित्सकको टोलीले सेवा प्रदान गरेका थिए । शिविरमा स्त्री रोग सम्बन्धी जाँच, थाइराइड सम्बन्धी जाँच, दन्त रोग सम्बन्धी जाँच, नाक, कान तथा घाँटी रोग सम्बन्धी जाँच, फोक्सो सम्बन्धी जाँच, बालरोग सम्बन्धी जाँच, छाला रोग सम्बन्धी जाँच, हाडजोर्नी रोग सम्बन्धी जाँच, पेट सम्बन्धी जाँच, नशा तथा स्नायु रोग सम्बन्धी जाँच, मुटुरोग सम्बन्धी जाँच, भिडियो एक्सरे सम्बन्धी जाँच र आँखा रोग सम्बन्धी जाँच गराईएको थियो । शिविर आज(शनिबार) विहान ८ः३० बजेदेखि बेलुकी ४ बजेसम्म सञ्चालन भएको थियो ।