दुलेगौंडा। शुक्लागण्डकी नगरपालिका वडा नं. ९ मा अवस्थित तालवेसि माध्यमिक विद्यालयमा अध्ययनरत बिधार्थीहरुको स्वास्थ्य परिक्षण गरिएको छ । कार्यक्रममा कक्षा ८ देखि १० सम्म अध्ययनरत १३८ जना विद्यार्थीहरुको रक्त समुह पहिचान गरि प्रमाणपत्र समेत वितरण गरिएको थियो ।
उद्घाटन सत्रमा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद राउतले स्वास्थ्य नै धन भएको बताउँदै विद्यालयमै आयोजना गरिएको सिविरले विद्यार्थीहरुले भरपूर फाईदा लिन अनुरोध गरे । बालबालिकाहरुको स्वास्थ्य परिक्षण गरि स्वास्थ्यमा आउन सक्ने सम्भावित समस्याहरुलाई समयमै समाधान होस् भन्ने उद्धेश्यले उक्त कार्यक्रम आयोजना गरिएको प्र.अ. ध्रुब क्षेत्रीले बताए ।
विद्यालयका शिक्षक सुवास चापागाईले शैक्षिक सत्रको सूरुमै विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गर्दा उनिहरुको बास्तविक अवस्था पनि थाहा हुने बताउँदै सिकाईमा समेत सहजिकरण गर्न सहजता हुने बताए । विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक शिक्षक दामोदर रेग्मीले सानो उमेरमा विशेषत नाक, कान र घाँटीको समस्या हुने, अभिभावकलाई आर्थिक समस्याको कारण अस्पताल सम्म गएर सामान्य स्वास्थ्य परिक्षण सम्म पनि गर्न नसक्ने अवस्था रहेको हुँदा ग्रामिण बालबालिकाहरु यो सिविर महत्वपूर्ण रहेको बताए ।
ढोर फुलबारी सहिद अस्पतालका मेडिकल अधिकृत डा. विज्ञान क्षेत्रीले विद्यालय स्वास्थ्य कार्यक्रमले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको नियमित स्वास्थ्य परिक्षण गरि आवश्यक सेवा निरन्तर दिने बताए । “समुदायका सवै बालबालिका विद्यालयमा आउने भएको हुँदा विद्यालय स्वास्थ्य कार्यक्रम आगामी आर्थिक वर्षमा शुक्लागण्डकी नगरपालिकाको अधिकांश विद्यालयमा लैजानुपर्छ ” उनले भने । उनले विद्यालयमा अध्ययनरत सवै विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गरि आवश्यक औैषधि समेत वितरण गरेका थिए । जसमध्ये कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुमा दात र कानको समस्या धेरै रहेको थियो भने केहि विद्यार्थीहरुको थप जटिलता देखिएकाले अन्य अस्पतालमा समेत रेफर गरेको डा. क्षेत्रीले बताए ।
कार्यक्रमा शुक्लागण्डकी नगरपालिका साँखे स्थित ढोर फुलबारी सहिद अस्पतालका डा. विज्ञान क्षेत्री सहित ८ जना स्वास्थ्य कर्मीहरुको उपस्थितिमा सिविर सम्पन्न भएको थियो ।