दुलेगौंडा । शुक्ला साहित्य संगम तनहुँले आयाेजना गरेको शुक्लागण्डकी नगरपालिका अन्तर्गत माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा पञ्चमुनिदेव माध्यमिक विद्यालयकी पुनम सेन ठकुरी प्रथम भएकी छिन् । उनले प्रतियोगितामा सहभागी ३४ जना प्रतिस्पर्धीलाइ पछि पादै प्रथम भएकी हुन् ।
यसैगरी प्रतियोगिता गाफा माध्यमिक विद्यालयकी सजना भट्टराई द्धितीय, बालविद्या मन्दिर माध्यमिक विद्यालयकी मानवि भट्टराई तृतीय, लिटल गार्डेन बाेर्डिङ्ग स्कुलका इजाज अली र ज्ञान बगैंचा इङ्लिस बाेर्डिङ्ग स्कुलकी प्रतिमा पाैडेल सान्त्वना भएका छन् ।
प्रतियोगितामा प्रथम हुनेले नगद ३ हजार, द्धितीय हुनेले २ हजार ५ सय, तृतीय हुनेले २ हजार र सान्त्वना हुनेले नगद १ हजार साथमा प्रमाणपत्र प्राप्त गरेको छ । युवासँग उपप्रमुख कार्यक्रम अन्तर्गत रहेर `सङ्घीय गणतन्त्रले स्थानीयकरणमा पारेको प्रभाव´ बिषयमा वक्तृत्वकला प्रतियोगिता भएको थियाे । प्रतियोगितामा माध्यमिक विद्यालकाे कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थी सहभागी रहेका थिए ।
शुक्ला साहित्य संगम तनहुकी अध्यक्ष टुकादेवी पाैडेल आचार्यकाे सभापतित्वमा सम्पन्न कार्यक्रम नगरप्रमुख कृष्णराज पण्डित, उपप्रमुख खुमबहादुर विक राजु, संस्थाका शेषमणी आचार्य, प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लाम्गादे, वडा नम्बर-४ का अध्यक्ष राजकुमार वाग्ले, वडा नम्बर-३ का वडाध्यक्ष सचिन भुजेल लगायतको उपस्थिति रहेकाे थियाे ।