दुलेगौंडा । मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधिबाट पुल राखिने भएको छ ।
अनहुइ काइयुआन हाइवे एण्ड ब्रिज कम्पनीले कोत्रे, म्याग्दे, कुम्लेखोला र विजयपुरमा पुल निर्माणका लागि प्रिकाष्ट प्रविधिको प्रयोग गर्न लागेको हो ।
निर्माण कम्पनीले तनहुँको म्याग्दे खोलामाथि प्रिकाष्ट प्रविधिबाट पुल राख्न सुरु गरेको चाइनिज कन्ट्रयाक्टरका इन्जिनियर अनुप श्रेष्ठले जानकारी दिए । निर्माणलाई तीव्रताका साथ अघि बढाइएको बताउँदै उनले हालसम्म २३ प्रतिशत काम भएको जानकारी दिए । निर्माणमा कतिपय ठाउँमा खानेपानीका पाइप, बिजुलीका पोलले समस्या पारेको उनले बताए ।