तनहुँ । तनहुँका १० वटै स्थानीय तहले पशुधनको सुरक्षा र उत्पादन वृद्धिद्धि गर्न पूर्ण खोप अभियान सञ्चालन गरेको छ। गण्डकी प्रदेश सरकारको सहयोगमा भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँमार्फत खोप अभियान कार्यक्रम सञ्चालन गरेको हो।
भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका प्रमुख डा राजेशकुमार चौधरीले करिब ३ लाख ५० हजार पशुमा पूर्ण खोप लगाइने जानकारी दिए ।
उनका अनुसार किसानको गोठमै पुगेर पशु चौपायाको तथ्याङ्क सङ्कलन गरिने र खोप लगाउनको लागि जिल्लामा ९२ जना प्राविधिकलाई तालिम दिएर खटाइएको छ। खोप कार्यक्रमअन्तर्गत भैँसीलाई खोरेत र एचएसविक्यू, भेडाबाख्रामा पिपिआर र खोरेत, सुँगुर र बङ्गुरलाई हैजाविरुद्धको खोप दिइनेछ।