तनहुँ- सोमबार प्रतिलिटर १७५ रुपैयाँ बिक्रि भएको पेट्रोलको मुल्य वृद्धि भएर १७८ पुगेको छ । सरकारले मंगलबारदेखि लागू हुने गरेर पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धी गरेको हो ।
नेपाल आयल निगमका अनुसार इन्डियन आयल कर्पोरेशन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्य पेट्रोलियम पदार्थमा प्रतिलिटर दुई रुपैयाँ ९६ पैसा र डिजेलमा तीन रुपैयाँ ४६ पैसा बढेर आएको हुँदा मूल्य वृद्धि गरेको हो । निगम सञ्चालक समिति बैठकले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँको दरले मूल्य बढाउने निर्णय गरेको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए ।
अब पेट्रोल प्रतिलिटर एक सय ७८, डिजल र मट्टीतेल प्रतिलिटर एक सय ६१ रुपैयाँ पुगेको छ । पहिलो वर्गअन्तर्गतको चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जका लागि पेट्रोलको मूल्य एक सय ७५ रुपैयाँ ५० पैसा तोकिएको छ । यस्तै दोस्रो वर्गअन्तर्गतको सुर्खेत र दाङका लागि एक सय ७७ रुपैयाँ कायम भएको छ । तेस्रो वर्गअन्तर्गतको काठमाण्डौ, पोखरा र दिपायलका लागि पेट्रोलको मूल्य एक सय ७८ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ ।