पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएका छन् । बुधबार पाण्डेले प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा बुझाएका हुन् ।
सङ्घको सत्ता गठबन्धन तोडीएपछि फागुन २३ मा माओवादीले समर्थन फिर्ता लिएको थियो । माओवादीको समर्थन फिर्तासंगै मुख्यमन्त्री पाण्डे अल्पमतमा परेका थिए । पाण्डेले यही २२ गतेभित्र संसद्मा विश्वासको मत लिनुपर्ने थियो । तर पाण्डेले विश्वास प्राप्त गर्ने स्थिति नदेखेपछि राजीनामा दिएका हुन् ।
गण्डकीमा निर्णायक देखिएको राप्रपाले तत्काल कुनै पनि दललाई सत्ताकेन्द्रित गतिविधिमा साथ नदिने बताएपछि पाण्डेले राजीनामा दिएका हुन् । गण्डकीमा एमालेका २२, माओवादीका सभामुखसहित ८ जना सांसद् छन् । जुन संख्या सरकार बनाउन पर्याप्त छैन । २ सदस्य रहेको राप्रपाले गठबन्धनलाई साथ नदिंदा बहुमत नपुग्ने र ठूलो दलको हैसियतमा फेरि आफैं मुख्यमन्त्री हुने रणनीति पाण्डेको छ ।