दुलेगौंडा । शुक्लागण्डकी नगरपालिका–६, खैरेनीटारका ७० बर्षिय मान बहादुर कुमालको ६ जना परिवारमा अहिले ४ जना विरामी छन् । आर्थिक अवस्था कमजोर रहेकै कारण परिवारका सदस्यको उपचारमा समस्या थपिदै गएपछि कुमाल पविारले आर्थिक सहयोगको लागि अपिल गरेका थिए । उनिहरुले गरेको अपिलका कारण कुमाल परिवारलाई ६ लाख २४ हजार २ सय रुपैया आर्थिक सहयोग प्राप्त भएको छ ।
तिलबहादुरका छिमेकी मार्टिना कुमालले सामाजिक सञ्जालमा सहयोगको विवरण पोष्ट गरी सम्पूर्ण सहयोगी मनलाई आभार प्रकट गरेकी छिन् । साथै उनले कुमाल परिवारमा बिस्तारै खुसीको सञ्चार हुन थालेको बताईन् ।
७० बर्षिय मानबहादुर विगत ४ बर्षदेखि हिडडुल गर्न नसक्दा घरको ओछ्यानमा थला परेका छन् । उनका छोरा तिलबहादुर विगत १५ बर्ष अगाडी दुबै मिर्गाैलाले काम नगरेपछि आमाले दिएको मिर्गाैला प्रत्यारोपण गरि बाचेका छन् । ५९ बर्षिय आमा टुकमाया कुमाल छोरालाई मिर्गाैला दिएपछि कमजोर भएकी छिन् । यसैगरी तिलबहादुरी पत्नी पनि शान्ति कुमाल डिप्रेशनको सिकार भएकी थिईन् ।
आर्थिक सङ्कलन हुदै जान थालेपछि यतिबेला डिप्रेशनको सिकार भएर उपचारत अवस्थामा रहेकी शान्ति कुमाल थप उपचार सहित पोखरास्थित मणिपाल शिक्षण अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएकी छिन् ।
तिल बहादुरकी आमा टुक मायाले प्राप्त रकम औषधी उपचारमा खर्च गर्ने बताईन् । उनले सहयोग रकमले आफूहरुलाई ठूलो राहत मिलेको बताउदै सहयोगी सबैलाई धन्यवाद दिइन् ।