भिमाद । तनहुँको भिमाद नगरपालिका–५ मिछुर्लुङ्गमा नेपालीहरुको नयाँ बर्षका दिन कौराहा प्रतियोगिता हुने भएको छ ।
मगर समुदायमा प्रचलित कौराहाको संरक्षण गर्दै गाउँको पर्यटन प्रबद्धन गर्नुका साथै स्थानीयको आयआर्जनमा वृद्धि गर्ने हेतुले कौराहा प्रतियोगिता आयोजना गर्न लागेको मिछुर्लुङ्ग विकास समितिका अध्यक्ष नरेन्द्र थापाले बताए । साथै कौराहा प्रतियोगीताको अवसरमा लोकदोहोरी गायक राजु परियार र लोकदोहोरी गायिका शिला आलेको पनि विशेष सांगितक प्रस्तुति हुने बताए ।
प्रतियोगितामा प्रथम हुने समुहले नगद ७५ हजार, द्धितीय हुनेले ५० हजार, तृतीय हुनेले २५ हजार र सान्त्वना हुने दुई समुहले १०/१० हजार साथमा प्रमाण पत्र प्राप्त गर्ने छन् ।
कौराहा करिब वि.सं १९८० सालमा तनहुँको रिसिङबाट सुरु भएको पाईन्छ । कौराहा गीत भर्खरका ठिटाहरूले खैँजडी बाजा बजाएर गाउने गर्छन् भने त्यस गीतमा चढ्दो उमेरका युवतीहरू भेषभूषामा सजिएर ताल मिलाएर नाच्ने गर्छन् ।