दुलेगौंडा । शुक्लागण्डकीको मुख्य बजार क्षेत्रको रुपमा परिचित दुलेगौंडामा ढल व्यवस्थापन हुन नसक्दा बजार क्षेत्र नै दुर्गन्धित बन्न थालेको छ ।
मुग्लीन–पोखरा सडक खण्ड विस्तार गर्ने क्रममा सडक छेउको नाला भात्काईयो र घर अगाडी नै खाडल खनेर फोहोर पानीलाई अस्थायी रुपमा व्यवस्थापन गरियो । आयोजनाले काम छिटो सम्पन्न गर्ने लक्ष्यका साथ सडकको सिमाङ्कन कार्य पनि सुरु गर्यो। सिमाङ्कन गर्ने क्रममा घरभित्र बाटो पुगे पछि केही स्थानीयले विरोध गरेर काम अगाडी बढाउन दिईएन । त्यसपछि दुलेगौंडाको बन्केवा चोकदेखि पश्चिमतर्फ भने काम अगाडी बढ्न सकेन । जुन आजसम्म पनि अलपत्र अवस्थामा रहेको छ । घरबाट निस्केका फोहोर पानीले खनिएको अस्थायी खाडल भरिन गई पछिल्लो समय बजार नै दुर्गन्धित बन्न थालेको छ ।
यता सडक आयोजना कार्यालयले भने शुक्लागण्डकी नगरपालिकालाई पत्र लेखेर सडक आसपासका घरहरुले आफ्नो घरको पानी आफैले सक पिट बनाई ब्यबस्थापन गर्नु पर्ने उल्लेख गरेको छ । सडकको डिजाईमा समेत घरको फोहोर पानी बग्ने ढलको कुनै ब्यबस्था नरहेको र सडक आयोजनाले बर्षातको पानी मात्रै ब्यबस्थापन गर्ने गरी नाली निर्माण गरिने बताएको छ ।
आयाेजनाले नगरपालिकालाई पठाएको पत्र
शुक्लागण्डकी नगरपालिकालाई आयोजनाले घरबाट निस्किने फोहोर पानी सडकको नालामा मिसाउन नपाउने भन्दै पत्र लेख्दा पनि नगरपालिकाले भने घरबाट निस्केका फाहोर पानीको व्यवस्थापन कस्ले र कसरी गर्ने भनेर कुनै चासो दिईरहेको छैन् ।
वर्तमान अवस्थामा सामान्य मान्दै बसेता पनि गर्मीको समयमा बर्ष बढि हुने हुदाँ दुर्गन्धि अझै तिब्र रुपले बढ्न सक्ने शुक्लागण्डकीका स्वास्थ्य शाखा प्रमुख डिवि थापाले बताए । उनका अनुसार यही स्थिती रहिरहने हो भने केही समयपछि डेन्गी र हैजाको महामारीपनि बढ्न सक्ने थापाको भनाई छ ।