दुलेगौंडा । सन् २००० देखि सञ्चालनमा आएको नेपालकै एक मात्र मध्यपहाडी क्षेत्रको मिलेनियम ट्र्याकमा सिँढी बाटो निर्माण गरिएको छ । तनहुँको दुलेगौडादेखि स्याङ्जाको रामबाछा जोडिने सहस्राब्दी पदमार्ग (मिलेनियम ट्र्याक) अन्तर्गत पुतलीबजार नगरपालिका–१२ गैरीस्वारादेखि केघा देउराली जाने तथा तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ बाबियाडाँडा ठाँटीमा सिँढी बाटो निर्माण गरिएको छ ।
गण्डकी प्रदेश सरकारको चालू आर्थिक वर्षमा विनियोजित २० लाख रकममध्ये गैरीस्वारादेखि केघा देउरालीको दुई सय ६५ मिटर बाटोका लागि १० लाख र बाबियाडाँडा ठाँटीको दुई सय ८५ मिटर बाटोका लागि १० लाख छुट्याएर काम गरिएको मिलेनियम ट्रयाक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले बताए। गैरीस्वारादेखि केघा देउरालीको सिँढी बाटो गण्डकी प्रदेश सरकारका पूर्वमन्त्री सीता सुन्दासले उद्घाटन गरेकी थिइन् ।
दुलेगौडादेखि रामबाछासम्म कूल ७२ किलोमिटर दूरी रहेको छ । पछिल्ला समयमा यस पदमार्गमा स्वदेशी एवं विदेशी पर्यटकको आकर्षण बढिरहेको छ ।