दुलेगौंडा । शुक्लागण्डकी नगरपालिकाको दोस्रो चौमासिक अबधिको सार्वजनिक सुनुवाई सोमबार ढोरफिर्दीमा सम्पन्न भएको छ ।
शुक्लागण्डकी पत्रकार मन्चको संयोजनमा भएको उक्त कार्यक्रममा बोल्दै नगर प्रमुख कृष्णराज पण्डितले आ.ब.२०८१÷८२ लाई शैक्षिक बर्षको रुपमा घोषणा गरी सोहि अनुसार नीति, योजना र बजेट तयार गर्ने बताए । साथै नगर प्रमुख पण्डितले आगामी शैक्षिक बर्ष देखि नगरपालिकामा निर्वाचित प्रतिनिधि र कार्यरत कर्मचारीले अनिवार्य आफ्ना सन्तानलाई सामुदायिक बिद्यालयमानै पढाउनु पर्ने नीति पारित गर्ने बताए ।
कार्यक्रममा नागरिकहरुको प्रश्न र सुझाबको उत्तर दिदै नगर प्रमुख पण्डितले नगरको बिकासका लागी योजनाबद्ध तरिकाले लागेको साथै शिक्षा, स्वास्थ्य र खानेपानी र कृषि उत्पादनलाई प्राथमिकतामा राखी अगाडी बढ्ने बताए ।
सार्बजनिक सुनुवाईमा सहभागी नगरवासीले नगरपालिकाले नगर बस संचालन गर्नु पर्ने, कृषि र पशु तर्फको कार्यक्रममा वृद्धि गर्नु पर्ने, सार्बजनिक जग्गा संरक्षणमा चासो दिनु पर्ने, खानेपानी समितिले सदस्यका लागी चर्को शुल्क लिने गर्ने गरेको हुँदा रोक्नु पर्ने, सुरक्षाको लागी सिसिटिभी थप गर्नु पर्ने, अत्याबश्यक सडकको पहिचान गरि निर्माण गर्नु पर्ने जस्ता कुराहरु राखेका थिए ।
सहभागीको जिज्ञासा र सुझाबको उत्तर दिदै नगर उप प्रमुख खुम बहादुर बिकले नागरिक संग गरिएका बाचाहरुलाई क्रमश पुरा गर्दै लगिने समेत बताए । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादे, आर्थिक बिकास शाखा प्रमुक नबराज पण्डित, वडा नं ८ का अध्यक्ष नारायणसिंह थापा, पशु शाखा प्रमुख मुक्ति पौडेल, स्वास्थ्य शाखा प्रमुख ढाल बाहदुर थापा लगाएतले नागरिकको प्रश्नको उत्तर दिएका थियो । कार्यक्रममा तनहुँ एफ एमका स्टेसन म्यानेजर शिव शंकर बानियाले नागरिक अभिमत बारे जानकारी गराएका थिए ।
प्रशासन शाखाका प्रमुख लक्ष्मण लम्सालले नगरको दोस्रो चौमासिक अबधि सम्मको प्रगति तथा गतिबिधि प्रस्तुत गरेका थिए । कार्यक्रमको संचालन शुक्लागण्डकी पत्रकार मंचका असोक विश्वकर्माले गरेका थिए ।