दुलेगौंडा । जनयुद्ध अध्ययन प्रतिष्ठान तनहुँका अध्यक्ष आशा कोईरालाद्वारा लिखित ‘अमरगाथा’ पुस्तक विमोचन भएको छ । जनयुद्धका क्रममा तनहुँ जिल्लामा सहादत प्राप्त गर्ने सहिद तथा बेपत्ता योद्धाहरूको जीवनीमा आधारित पुस्तक शनिबार नेकपा माओवादी केन्द्रका महासचिव देव गुरूङले विमोचन गरेका हुन् ।
पुस्तकमा १० बर्षे जनयुद्धका क्रममा तत्कालीन राज्यपक्षबाट मारिएका ६५ जना सहिद तथा बेपत्ता पारिएका १५ जना नागरिकको जीवनी समेटिएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका खातिर जनयुद्धमा भएको बलिदानको स्मरणमा स्मृतिग्रन्थ तयार पारेको लेखक कोईरालाले बताईन् ।
स्मृतिग्रन्थ विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव गुरूङले माओवादी जनयुद्धले हासिल गरेका उपलब्धिहरूलाई उल्ट्याउने प्रयत्नहरू भैरहेकोले यसतर्फ क्रान्तिकारीहरू सचेत र संघर्षशील हुनुपर्ने विचार व्यक्त गरे ।
विकमेचन कार्यक्रममा प्रगतिवादी साहित्यकार दिलीपकुमार श्रेष्ठ, गण्डकी साहित्य संगमका अध्यक्ष भीम रानाभाट, माओवादी नेताहरू हरि बहादुर चुमान, राजेन्द्र केशरी न्यौपाने, मदन आले, शुक्र चुमान, अतिन्द्रकेशरी न्यौपाने, सुर्य बहादुर गौली लगायतको उपस्थिती रहेको थियो ।