भिमाद । भिमाद नगरपालिका वडा नं. १, किहुँ बडहर भन्ज्याङमा अवस्थित श्री सिद्धार्थ माविमा शुक्रबार नमुना मतदान कार्यक्रम सम्पन्न भएको छ।
सामाजिक अध्ययन विषयको नागरिक चेतना एकाइ अन्तर्गत विद्यार्थीहरूलाई प्रयोगात्मक ज्ञान दिने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको सामाजिक अध्ययन विषय शिक्षक टिकाराम गौतम उत्सुकले जानकारी दिनुभयो। कक्षा ६ देखि १२ सम्मका सम्पूर्ण विद्यार्थीहरूले उत्साहजनक रुपमा भाग लिएको उक्त कार्यक्रममा चार जना उम्मेदवारहरूले आ आफ्ना चुनाव चिन्हमा मतदानका लागि आह्वान गरेका थिए। २ वटा मतदान केन्द्र स्थापना गरी सञ्चालन गरिएको नमुना निर्वाचनमा निर्वाचन अधिकृत, मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, म्यादी प्रहरी आदि जस्ता भूमिका विद्यार्थीले नै निर्वाह गरेका थिए। विद्यालयका प्रधानाध्यापक श्री केशवराज तिम्सिनाले यस्ता कार्यक्रमले विद्यार्थीहरूको सिकाइको दायरा फराकिलो बनाउने विश्वास व्यक्त गर्नुभयो।