दुलेगौंडा । तनहुँकाे शुक्लागण्डकी-४ गाछेपानीमा रहेकाे पुन मगर आमा समुहकाे नवनिर्मित भवनकाे उद्घाटन गरिएको छ । बिहीबार शुक्लागण्डकी नगरपालिका-४ का पूर्व वडाध्यक्ष शिबकुमार श्रेष्ठले उक्त भवनकाे उद्घाटन गरेका हुन् ।
भवन उद्घाटन गर्दै पूर्व वडाध्यक्ष श्रेष्ठले पुन मगर आमा समुहकाे भवन नरहेकाे हुदाँ सामाजिक कार्यक्रम र समुहको बैठक खुला चाैर वा कसैको घरमा गर्नुपर्ने बाध्यता भएको थाहा भएपछि वडाबाट बजेट विनियोजन गरि भवन निमार्ण कार्य गरिएको वडाध्यक्ष श्रेष्ठले बताए । श्रेष्ठले भवनकाे भरपूर उपयोग गरि समाजका हरेक गतिविधि यही भवनमार्फत सञ्चालन गर्न आग्रह गरे । साथै याे भवन पुन मगर आमा समुहको मात्रै नभई सबैकाे साझा थलाेकाे रूपमा विकास गर्न आग्रह गरे ।
समुहकी अध्यक्ष बिन्दु पुनकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्व वडाध्यक्ष श्रेष्ठ सहित समाजसेवी नीर पुन, रजनि थापा, देउनारायण श्रेष्ठ, हिरा पुन लगायतको उपस्थित रहेको थियाे ।
भवनको निर्माण कार्य २०७५ सालदेखि भएको थियाे । नगरकाे १३ लाख, गाछेपानी आमा समुहको ७ लाख, पुन मगर समाजको ८ लाख लागतमा भवनको निर्माण कार्य सम्पन्न भएको थियो । भवन १ राेपनि १२ आनामा १०० फुट लम्बाइ र २० फुट चाैडाइमा निर्माण भएको छ ।