दुलेगौंडा । शुक्लागण्डकी नगरपालिका-७ सेराटारमा रहेको कुश्मावति आधारभूत विद्यालयले आयाेजना गरेको ह्याकाथन प्रतियोगितामा पञ्चमुनिदेव माध्यमिक विद्यालय प्रथम भएको छ । सहभागी ६ विद्यालयलाई पछि पार्दै पञ्चमुनि प्रथम भएको हाे ।
यसैगरी प्रतियोगितामा थाङ्पाल भ्याली माध्यमिक विद्यालय सिन्धुपाल्चोक द्धितीय र जनकल्याण माध्यमिक विद्यालय बेलचाैतारा तृतीय भएको छ ।
विद्यार्थीमा सफ्टवेयर बनाउन सक्ने साथै व्यवसायीक क्षमताको विकास गर्न ह्याकाथन प्रतियोगिता आयाेजना गरिएको कुश्मावति विद्यालयका प्रधानाध्यापक सीता गिरीले बताइन् । नेपालमा नै आधारभूत विद्यालयमा पहिलो पटक कुश्मावतिले यस प्रतियोगिता आयाेजना गरेको गिरीकाे दाबी छ ।
प्रतियोगितामा थाङ्पाल भ्याली माध्यमिक विद्यालय सिन्धुपाल्चोक, निर्मल मावि व्यास, रत्न मावि म्याग्दे र शुक्लागण्डकीका पञ्चमुनिदेव मावि, जनकल्याण मावि, सरस्वती नमुना मावि र कुश्मावति आवि सहभागी रहेका थिए । सुर्य नेपाल र टिच फर नेपालीको समन्वय, शुक्लागण्डकी नगरपालिकाकाे आर्थिक सहयाेगमा कुश्मावति आधारभूत विद्यालयले कार्यक्रमकाे आयाेजना गरेको थियो ।
ह्याकाथन भनेको ह्याकर र म्याराथन दुई शब्द मिलेर बनेको शब्द हाे । ह्याकर भनेकाे एक चलाख प्राेगामर हाे र म्याराथन भनेको सिमित अवधिभित्र रहेर सहनशीलतापूर्वक काेडिङ्ग गर्नु हाे । यसमा विद्यार्थीहरूले एउटा कुनै विषय छनाेट गरेर त्यससँग सम्बन्धित समस्याहरूलाई आफ्नो याेजना काेडीङ्ग मार्फत प्रस्तुत गर्नुपर्छ ।