दुलेगौंडा । शुक्लागण्डकी-२ हलेदीमा शिला आधारभूत विद्यालय छ । पूर्वतर्फ हलेदी खाेला र पश्चिमीतर्फ पृथ्वी राजमार्गकाे विचमा रहेकाे विद्यालयमा विगत लामाे समयदेखि कम्पाउण्ड र हलेदी खाेला तरेर आउन पुल थिएन । डरै डरमा राजमार्गको बाटाे हुँदै विद्यालयसम्म आउने विद्यार्थीहरूका निम्ति विद्यालय र गाछेपानी जाेड्ने स्थानमा पैदल पुल निर्माण भएसंग विद्यार्थीहरू खुसी भएका छन् ।
शुक्लागण्डकीका प्रथम मेयर किसान गुरूङकाे पालामा निर्माण सुरू भएको पुल करिब ४ बर्षपछि निर्माण सम्पन्न भएको छ । पुलकाे जिप (आधार गार्हो) भने केही बर्ष अघि नै बनेकाे थियाे । त्यहि आधारमाथि शुक्लागण्डकी नगरपालिका वडा नं. २ बाट विनियोजित ४ लाख रूपैयाँ बजेटबाट पुल निर्माण कार्यलाई पूर्णता दिईएकाे हाे ।
पुल निर्माण सम्पन्न भएपछि विद्यार्थी तथा अभिभावक पनि खुशी छन् । कक्षा ५ का छात्र आशिष तामाङले अबदेखि खाेला तर्नु नपर्ने भएकाले खुशी लागेकाे सुनाए ।
निर्माण सम्पन्न भएपछि शुक्लागण्डकीका मेयर कृष्णराज पण्डितले बुधबार पुलको उद्घाटन गरेका छन् । कार्यक्रममा बाेल्दै नगरप्रमुख पण्डितले विद्यालयमा घेराबार (कम्पाउण्ड) लगाउन बजेट विनियाेजन गर्ने प्रतिवद्वता व्यक्त गरे ।
विद्यालयमा सरस्वती मन्दिरको प्राणप्रतिष्ठा
शिला आधारभूत विद्यालयमा सरस्वती मन्दिर निर्माण गरि प्राणप्रतिष्ठा गरिएकाे छ । शतप्रतिशत जनसहभागितामा निर्माण गरिएकाे मन्दिरकाे श्री पञ्चमीकाे अवसरमा उद्घाटन गरिएकाे हाे । विश्व हिन्दु महासंघ, नवज्योति आमा समूह लगायत स्थानीय व्यक्तिहरूकाे आर्थिक तथा भाैतिक सहयाेगमा मन्दिर निर्माण गरिएकाे व्यवस्थापन समितिका अध्यक्ष शंकर पन्तले जानकारी दिए ।