बेलचौतरा । शुक्लागण्डकी–५, बेलचौतरास्थित भानुभक्त बहुमुखी क्याम्पसको खुला चौरमा हुने तेस्रो शुक्लागण्डकी महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।
आर्थिक, सामाजिक, खेलकुदको विकास, कृषि तथा पर्यटनको प्रवद्र्धन, तेस्रो शुक्लागण्डकी महोत्सव कला सिप र संस्कृतिको संरक्षण भन्ने नाराका साथ भोलि शुक्रबारदेखि महोत्सव हुन लागेको हो । महोत्सवलाई लक्षित गरी विभिन्न स्थानमा पुगेर महोत्सवको प्रचारप्रसार गरिएको छ । हाल स्टल निर्माणको काम सकिएको छ ।
त्यस्तै स्टेज, मुल गेट, विद्युतीकरण र खेलमैदान व्यवस्थापनको काम भइरहेको छ । आज साँझसम्म सवै काम पुरा हुने बताइएको छ । स्टल व्यवस्थापन उपसमिति संयोजक गंगाराम श्रेष्ठका अनुसार ९० प्रतिशत स्टलहरु बुकिङ भइसकेका छन् । उनका अनुसार कृषि र घरेलु उद्योगलाई निशुल्क रुपमा स्टलको व्यवस्था मिलाइएको छ ।
सुरुदेखि नै उत्साहजनक रुपमा तयारी थालिएको तेस्रो शुक्लागण्डकी महोत्सवमा दर्शकहरुले नयाँ अनुभुति गर्ने महोत्सवका प्रवक्ता एवं शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघका महासचिव उपेन्द्र तिमिल्सिनाले बताए । उनले महात्सवमा कृषि र घरेलुका स्टलहरु विशेष आकर्षणको रुपमा रहने बताए ।महोत्सवका संरक्षक एवं नगर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष बसन्त ज्वारचनले यस क्षेत्रका उद्योेगी, व्यापारी, कृषि लगायतका सवैलाई महोत्सवले राहत दिने बताए । महोत्सव नाफाको उद्धेश्यलेले मात्र आयोजना नगरिएको र यो सवैको साँझा कार्यक्रम भएकाले मिलेर सफल पार्नुपर्नेमा जोड दिए ।
सल्लाहकार हरिबहादुर थापाले १२औ खैरेनीटार महोत्सवको समग्र जानकारी गराउँदै महोत्सव अवलोकनका लागि दर्शकलाई निमन्त्रणा दिए ।भोलिदेखि सुरु हुने महोत्सवको प्रतिनिधि सभा सदस्य एवं पुर्वमन्त्री शंकर भण्डारीले उद्घाटन गर्नेछन् ।