दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका ८ ले वडा जनप्रतिनिधि तथा कर्मचारीहरुलाई क्षमता विकास तालिम दिएको छ । वडाका कार्यक्रम तथा योजनाहरु प्रभावकारी रुपमा समयमै सक्न र आवश्यक परेका कुराहरु स्पष्ट रुपमा व्यक्त गर्नका लागि कार्यक्रम संञ्चालन गरिएको वडाध्यक्ष कृष्ण प्रसाद रेग्मीले जानकारी दिए ।
वडाको आर्थिक बर्ष २०७८/०७९ अन्तर्गतको पहिलो कार्यक्रम जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकासको तालिम हो । “हाम्रो यस कार्यक्रम यो आर्थिक बर्षको पहिलो कार्यक्रम हो,जनप्रतिनिधि ,टोलअध्यक्षहरु ,कर्मचारीहरुमा कामप्रति उर्जाशिल भएर केन्द्रीत हुन यस बर्ष क्षमता विकास तालिम गरिएको हो” वडाध्यक्ष रेग्मीले भने ।
एकता टोलमा रहेको सामुदायिक भवनमा आयोजित तालिममा नेपाली काँग्रेसका शुक्लागण्डकी नगर सभापति माधवप्रसाद भट्टराई, शिवटोलका अध्यक्ष पिताम्बर खाँती ,एकता टोल विकास संस्थाकी अध्यक्ष कुमारी तिमिल्सिना, साना किसान सहकारी ढोरफिर्दीका अध्यक्ष भोजराज शर्मा ,कर्मचारी पशुशाखा प्रमुख इश्वर रेग्मी लगायतको उपस्थिती रहेको थियो ।
तालिममा अधिवक्ता तथा संचारकर्मी सुस्मा पौडेल र मोटीभेटर सीता गिरीले क्षमता विकास सम्बन्धि सहजीकरण गरेका थिए । यस कार्यक्रम १ लाख ५० हजार रुपैयाँमा सम्पन्न गरिएको वडा कार्यालयले जनाएको छ ।