दुलेगौंडा, माघ १ । राष्ट्रिय योग दिवसको अवसरमा नेपालमै पहिलोपटक शुक्लागण्डकीमा महामृत्युञ्जय यज्ञ र अखण्ड हवन सम्पन्न गरिएको छ । राष्ट्रिय योग दिवस–२०८० को अवसर पारी पतञ्जली नगर योग समिति शुक्लागण्डकीले श्री मुक्तिनाथ शुक्लागण्डकी च्यवन धाम गाछेपानीमा यज्ञ, अखण्ड हवन तथा योग प्रदर्शनीको आयोजना गरेको छ । विहान सुर्य उदयदेखि सुर्यास्तसम्म महामृत्युञ्जय मन्त्रद्धारा अखण्ड हवन र जाप गरिएको हो ।
कार्यक्रममा शुक्लागण्डकी नगरपालिका भित्रका १२ वटा योग साधना केन्द्र र विद्यार्थीहरुको योग प्रदर्शनी समेत गरेका थिए भने जाडो बिदामा मुस्तांगबाट तिब्बतीयन क्याम्पमा जाडो छल्न आएका जनज्योती आधारभुत विद्यालयका विद्यार्थीले विशेष योग आसन प्रदर्शन गरेका छन् ।
समितिका नगर संयोजक एक नारायण गौतमका अनुसार भगवान शिवको सबैभन्दा शक्तिशाली मन्त्र भएकाले महामृत्युन्जय मन्त्रको जपद्धारा अकाल मृत्युको भयबाट मुक्ति मिल्ने मात्र नभई ठुलाठुला रोग र कष्ट समेत निवारण हुने विश्वास गरिन्छ । साथै वैदिक कार्यको पूर्णताकालागि पनि हवनको विशेष महत्व रहेकाले उक्त यज्ञ गरिएको उनले जानकारी दिए । कार्यक्रमका संयोजक ऋतु भुवाईले हवनको बिशेष महत्व हुने यसले वतावरणीय प्रदुषणको शुद्धता र धार्मिक दृष्टिकोणले पनि महामृत्युञ्जय यज्ञको अर्थ रहेको बताए ।
आजै शंकर पन्त र उर्मिला थापाको स्वरमा रहेको पतञ्जली नगर योग समिति शुक्लागण्डकीले तयार गरेको उठौं न साथी उठौं बोलको योग गीत विमोचन समेत गरिएको समितिका सचिव बालकृष्ण विकले बताए । प्रदेश सभा सदस्य श्यामराजा महत र महिला पतञ्जली योग समिति नेपालका केन्द्रिय उपाध्यक्ष अर्चना घिमिरेले संयुक्त रुपमा गीतको विमोचन गरेका थिए । विहान सुर्योदयसँगै शुरु भएको अखण्ड हवनमा भक्तजनको बिशेष भिड लागेको थियो ।