दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–९ स्याउलिबजारमा आईतबारदेखि चौथो संस्करणको ल्होसार कप सेभेन ए साइड फूटबल प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा आयोजक भ्याली युथ क्लब (सि) लाई शितलबस्ती युवा क्लबले पराजीत गरेको थियो । प्रतियोगिताको पहिलो हापमा दुबै गोलरहीत अवस्थामा रहे पनि दोस्रो हाप भने शितलबस्ती युवा क्लबले आयोजक विरुद्ध २ गोल गर्दै जीत हासिल गरेको हो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै शुक्लागण्डकी नगरपालिका–९ का वडाध्यक्ष बाबुराम पुलामीले खेलकुदले खेलाडीको क्षमता पहिचान गराउनुका साथै आफ्नो गाउँठाउँको पनि पहिचान दिलाउन सकिने बताए । युवाको नेतृत्व र व्यक्तित्व विकासमा वडाले पनि आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
क्लबका अध्यक्ष सुवास शाही ठकुरीको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा वडा सदस्य कमल थापा, सुनिता वि.क, बुद्धिमाया गुरुङ, नवप्रभात युथ क्लबका अध्यक्ष विक्रम कार्की, तालवेसी माविका पुर्वअध्यक्ष रवि केसी, क्लबका सचिव सुमन श्रेष्ठ लगायतले बोलेका थिए ।
प्रतियोगिताको उपाधि विजेताले ७१ हजार र उपविजेताले ४१ हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई नगद १ हजार ५०० रुपैयाँसहित शिल्ड र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगिता आगामी १४ गतेसम्म संचालन हुने छ । प्रतियोगितामा हालसम्म २४ टिम सहभागि रहेको क्लबका सचिव सुमन श्रेष्ठले बताए ।