काठमाडौं । आउँदो सोमबार र मंगलबार देशभर मौसम बदली हुने पूर्वानुमान छ । ती दुई दिन देशभर वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी वायुको प्रभावका कारण वर्षा हुने देखिएको महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् । उनले भनिन “सानो प्रणाली आउँदै छ, पश्चिमी वायुको असरले सोमबार र मंगलबार वर्षा हुने देखिन्छ,” ।
उनका अनुसार उक्त अवधिमा देशभर बादल लाग्नेछ । काठमाडौं उपत्यकासहित देशभर वर्षाको सम्भावना छ । अरू स्थानको तुलनामा पश्चिमी क्षेत्रमा धेरै पानी पर्नेछ । बुधबार दिउँसोदेखि मौसम खुल्दै जाने उनले बताइन् ।