दुलेगौंडा । तनहुको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडामा सम्पन्न ‘ब लेबल’ डबल पुरुष ब्याडमिन्टन प्रतियोगितामा पुष्पनारायण राई र अश्विन मगरको जोडी प्रथम भएको छ।
शनिबार सम्पन्न फाईनल खेलमा राई र मगरको जोडीले देव गुरुङ र मन बहादुर आलेको जोडीलाई पराजित गरेको थियो । प्रतियोगितामा प्रथम भएको राई र मगरको जोडीले नगद २५ हजार साथमा शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने उपविजेता गुरुङ र आलेको जोडीले नगद १५ हजार साथमा शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । स्पन्धन श्रेष्ठ र सुवोध आले र अमृत श्रेष्ठ र तुला थापाको जोडि तृतीय भएको छ । उनिहरुले नगद ७ हजार साथमा शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।
यसैगरि शुक्लागण्डकी नगरपालिका स्तरीय ‘सी लेभल’ डबल पुरुष ब्याडमिन्टन प्रतियोगितामा गोविन्द खड्का र कुमार राना प्रथम भएका छन् । प्रथम भएसंगै खड्का र रानाले नगद २० हजार साथमा शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् भने उपविजेता समुन्द्रराम श्रेष्ठ र सुवास श्रेष्ठले नगद १० हजार साथमा शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।
यसैगरि तनहुँ जिल्ला स्तरीय ५० बर्ष माथिको पुरुष भेट्रन्स ब्याडमिन्टन प्रतियोगितामा सन्त बहादुर गुरुङ्ग र पदम आले प्रथम भएका छन् । गुरुङ र आलेले विष्णु थापा र राम बहादुर रानाको जोडीलाई पराजित गरेको थियो । विजेता गुरुङ र आलेले नगद १० हजार र उपविजेता थापा र रानाको जोडीले नगद ७ हजार शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । भेट्रन्स तर्फ छवि गुरुङ र विष्णु बहादुर रानाको जोडी र झक बहादुर गुरुङ र रघुनाथ पौडेलको जोडि तृतीय भएको थियो । उनिहरुले नगद ४ हजार साथमा प्रमाण पत्र प्राप्त गरेका छन् ।
१५ बर्ष मुनिको ब्याडमिन्टन प्रतियोगितामा सौभाग्य कडेल र सन्तोस कार्कीको समुह प्रथम, नविन राना र नेस्नल गुरुङको समुह द्धितीय र रशिम मल्ल र अरुण श्रेष्ठको समुह तृतीय भए ।
क्लव अध्यक्ष विष्णु रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शुकलागण्डकी–६ का वडाध्यक्ष बुद्धिबहादुर थापा, शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघका अध्यक्ष विमल प्रसाद रिमाल लगायतको उपस्थिती रहेको थियो । कनेक्ट अष्ट्रेलिया एजुकेसन एण्ड भिसाज सर्भिसेज दुलेगौंडाको मुख्य प्रायोजनमा प्रतियोगिता भएको हो ।