दुलेगौंडा । गण्डकी मन्टिपल कलेजले आयोजना गरेको ‘जिएमसि फुटसल रनिङ कप’ को उपाधि पञ्चमुनीदेव माध्यमिक विद्यालयले हात पारेको छ ।
आज भएको फाईनल खेलमा पञ्चमुनीले तालबेसी माध्यमिक विद्यालयलाई पराजित गर्दै उपाधि हासिल गरेको हाे । जितसंगै पञ्चमुनीले नगद ५ हजार साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा उपविजेता रहेको तालबेसीले नगद ३ हजार र तृतीय भएको खैरेनी माध्यमिक विद्यालयले नगद २ हजार साथमा मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । प्रतियोगितामा पञ्चमुनीका कुशल लामिछाने सर्वाेत्कृष्ट खेलाडी र सागर गुरूङ उत्कृष्ट गाेलरक्षक घाेषित भए ।
प्रतियोगिता नगरभित्रका कक्षा १२ मा अध्ययन गर्ने विद्यालयका विद्यार्थीविच भएको थियो । जहाँ सुर्योदय माध्यमिक विद्यालय (क) र (ख), तलबेसी मा।वि, गाफा मा.वि, अरनिको मा.वि खैरेनीटार, ज्ञानबगैचा मा.वि, पञ्चमुनीदेव मा.वि र खैरेनी माध्यमिक विद्यालय सहभागि रहेको थियो ।
विद्याथीको सर्वाङ्गीण पक्षको विकास गर्नुका साथै राष्ट्रियस्तरमा प्रतिशपर्धा गर्न सक्ने खेलाडी उत्पादन गर्ने लक्षयका साथ प्रतियोगिता आयोजना गरिएको क्याम्पस प्रमुख लिलानाथ काफ्लेले बताए । उनले नगरपालिका भित्र पहिलो पटक गण्डकी मन्टिपल कलेजले कक्षा १२ मा अध्ययन गर्ने विद्यालयका विद्यार्थीबिच प्रतियोगिता आयोजना गरेको दाबि गरे ।
प्रतियोगितामा विजेता विद्यार्थीलाई क्याम्पस सञ्चालक समितिका अध्यक्ष अमित थापा मगर, क्याम्पस प्रमुख काफ्ले र शिक्षक प्रेमकला थापाले पुरस्कार वितरण गरेका थिए ।