काठमाडौं । कक्षा १२ को उत्तरपुस्तिका जाँच एक हप्ताका लागि स्थगित गरिएको छ । १८ बुँदे माग राख्दै आन्दोलनरत हिस्टुनले मंगलबार (आजं)देखि असार १९ गतेसम्म कक्षा १२ को उत्तरपुस्तिका परीक्षण स्थगित गरेको जनाएको छ ।
सरकारले २०६७ सालमा दिएको चार हजार अनुदान कोटाको शिक्षक दरबन्दीलाई शिक्षक दरबन्दीमा परिणत गर्नुपर्ने र अब आउने शिक्षाको संघीय ऐनमा साविक उमावि (कक्षा ११ र १२) तहमा अध्यापनरत शिक्षकहरुको समस्या समाधान हुने गरी समेटिनुपर्ने माग हिस्टुनले राखेको छ ।
हिस्टुनका महासचिव शंकर तिवारीले भने, ‘हामीले बोर्डसँगको समन्वयमा देशभरका परीक्षण केन्द्रमा आजदेखि एक हप्ता कक्षा १२ को उत्तरपुस्तिका जाँच स्थगित गरेका छौं ।’ १९ गतेसम्म पनि माग सुनुवाइ नभए अर्को चरणको आन्दोलन सुरु गर्ने चेतावनी उनीहरुले दिएका छन् ।