दुलेगौँडा । तनहुँको शुक्लागण्डकी–५,बेलचौतारामा निर्माण गरिएको सोलार फार्म प्रा.लिलाई शुक्लागण्डकी नगरपालिकाले सम्मान गरेको छ ।
सौर्य उर्जा प्लान्ट सञ्चालनमा ल्याई नवीकरणीय उर्जा प्रयोगको क्षेत्रमा योगदान पु¥याएको भन्दै सोमबार सोलार फार्मका अध्यक्ष मोहन गुरुङ र निर्देशक शंकरजंग गुरुङ लगायतका लगानीकर्ताहरुलाई खादा र प्रशंसा पत्रले सम्मान गरेको हो ।
नगर प्रमुख कृष्णराज पण्डितले फार्मका अध्यक्ष गुरुङलाई उक्त प्रशंसा पत्र प्रदान गरेका थिए । कार्यक्रममा उप–प्रमुख खुमबहादुर वि।क ९राजु०, प्रमुख प्रशासकिय अधिकृत लिला वल्भव न्यौपाने, वडा नं ७ का वडा सदस्य राजबहादुर थापा, नगर प्रमुखका स्वकिय सचिव त्रिलोचन लम्साल, व्यवसायी अमृत घिमिरे लगायतको उपस्थिति रहेको थियो ।
बेलचौतरास्थित भानुभक्त क्याम्पसको जग्गा भाडामा लिएर १३ हजार पाँच सय सोलार प्यानल जडान गरी विद्युत उत्पादन भइरहेको छ । यस सोलार आयोजना निर्माणमा ४३ करोड रुपैयाँ लगानी भएको छ आयोजनाबाट पाँच मेगावट विद्युत उत्पादन हुने गरेको छ । वि।सं २०७८ भाद्र २९ गते राष्ट्रिय प्रसारण लाइनमा जोडिएको आयोजनाले ६ वर्षमा लगानी सुरक्षित हुने जनाएको छ । ।