दुलेगौंडा । एकता युवा क्लब शुक्लागण्डकी नगरपालिका–८ एकताटोल (लालिम) ले आयोजना गरेको साविक गाउँ तथा वडा स्तरीय भलिबल प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन दंगा प्रहरी गण र चेप्टे युथ क्लब विजय भएका छन् ।
उद्घाटन खेलमा दंगा प्रहरी गणले दुलेगौंडा स्टाफ टिमलाई २–० को सोझो सेटमा पराजित गरेको छ । यसै गरि दोस्रो खेलमा चेप्टे युथ क्लबले आयोजक एकता युवा क्लब (सि) लाई २–० कै सोझो सेटमा पराजित गरेको छ ।
प्रतियोगितामा प्रथम हुनेले नगद २५ हजार, द्धितीय हुनेले नगद १५ हजार र तृतीय हुनेले नगद १० हजार साथमा कप मेडल र प्रमाण पत्र प्राप्त गर्ने क्लबका खेल संयोजक रुपेश बरेलीले बताए । उनका अनुसार प्रतियोगितामा उत्कृष्ट ब्लकर, उत्कृष्ट स्पाईकर र उत्कृष्ट लिफ्टरलाई पनि पुरस्कृत गरिने भएको छ । प्रतियोगिता माघ १० गते सम्म सञ्चाmन हुने भएको छ ।
क्लबका अध्यक्ष टेकबहादुर जुग्जालीको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा शुक्लागण्डकी नगरपालिका–८ का वडा सदस्य अशोक महत, एकता टोल विकास संस्थाकी अध्यक्ष कुमारी भुजेल, सफल एकता आमा समुहकी अध्यक्ष टिका जुग्जाली, सिर्जनशील आमा समुहकी अध्यक्ष दिपा वाग्ले, ठूलढुङ्गा टोल विकास समिति अध्यक्ष दिपा क्षेत्री, समाजसेवी मिलन महत, क्लबका सचिव मिलन सुवेदी लगायतको उपस्थिती रहेकको थियो ।