दुलेगौंडा । तनहुँ क्षेत्र नं. २ ‘ख’ बाट प्रदेश सभा सदस्यमा उम्मेद्वारी दिएका नेकपा एकिकृत समाजवादीका तनहुँका जिल्ला सचिव दुर्गा कुमार श्रेष्ठले आफ्नो उम्मेदवारी निष्क्रिय भएको घोषणा गरेका छन् । सोमबार एक प्रेश विज्ञप्ती जारी गरि श्रेष्ठले उम्मेद्वारी निष्क्रिय गर्दै नेकपा एमालेलाई समर्थन गर्ने बताएका छन् ।
तनहुँमा गठबन्धले नेकपा एसलाई एक सिट समेत नदिइ गरिएको सहमतिप्रति विरोध जनाउदै प्रदेश सभामा आफु लगायतले उम्मेदवारी दिएको विज्ञप्तीमा उल्लेख छ । साथै गठबन्धनको नाममा कम्युनिष्ट आन्दाोलनलाई कमजोर बनाएको भन्दै एमालेलाई समर्थन गर्ने बताइएको छ । ‘गठबन्धनको नाममा कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाउने दिशातर्फ भन्दा योग्य कम्युनिष्ट पार्टीका उम्मेदवारलाई सहयोग पु¥याउनुपर्छ भन्ने मान्यताका साथ आजकै दिनदेखि उम्मेदवारी निस्क्रिय रहेको घोषणा गर्दछु’ उनले विज्ञप्तीमा उल्लेख गरेका छन् ।
उम्मेदवारी निष्क्रिय गराएका श्रेष्ठले प्रतिनिधी सभामा एमालेका उम्मेदवार किरण गुरुङ र प्रदेश सभामा श्यामराजा महतलाई समर्थन गर्ने जनाएका छन् । साथै एमालेका उम्मेदवारलाई भारी मतका साथ विजयी गराउन समेत अपिल गरेका छन् ।