खैरेनीटार । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ भोटेपानीमा दिगो युथ क्लबले आयोजना गरेको ‘प्रथम दिगो कप’को उपाधि शुक्ला फुटबल क्लबले हात पारेको छ ।
आज भएको फाईनल खेलमा आयोजक दिगो युथ क्लबलाई २–१ गोल गर्दै शुक्लाले जित सुनिश्चित गरेको हो । खेलको पहिलो हाफमा आत्माघाति गोल हुदाँ दिगो क्लबले अग्रता कायम गरेको थियो भने केही समयमा नै शुक्लाका मिन गुरुङले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । यसै गरि दोस्रो हाफमा पुनः शुक्ला एफसिका अनुज भण्डारीले गोल गर्दै क्लबलाई अग्रता दिलाएका थिए । त्यसपछि कुनै गोल हुन नसकेपछि भण्डारीको गोल नै निर्णयक गोल बन्न पुग्यो ।
प्रतियोगितामा प्रथम भएको शुक्लाले नगद ५५ हजार ५५५ साथमा कप, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने उपविजेता आयोजकले नगद ३३ हजार ३३३ साथमा कप, मेडल र प्रमाण पत्रमा चित्त बुझाएको छ । प्रतियोगिता अवधिभर शुक्ला फुटबल क्लबका अनुज भण्डारी सर्वाधिक गोलकर्ता, रोमन थापा मगर उत्कृष्ट गोलरक्षक र सरोज टिटुङ्ग बेष्ट प्लेयर घोषित भए भने दिगो क्लबका विजय श्रेष्ठ बेष्ट डिफेन्डर घोषित भए ।