खैरेनीटार । तनहुँको शुक्लागण्डकी नगरपालिका–६ खैरेनीटारमा आजदेखि खुल्ला पुरुष स्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ । प्रगतिटोल दाजुभाई समुहले स्थानीय स्तरमा रहेका खेलाडीको संरक्षण गर्दै राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्ने लक्ष्याका साथ जनै पूर्णिमाको अवसर पारेर प्रतियोगिता सुरु गरेको हो ।
कार्यक्रममा बोल्दै शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डितले टोललाई नै एकताको सुत्रमा बाधेर प्रतियोगिता आयोजना गर्नु उत्कृष्ट कार्य रहेको बताए । ‘एकता टोलले समाजलाई नै एकताबद्ध गरेरे यो खेलकुद कार्यक्रम आयोजना गर्नु भएको छ । यो समुहलाई म उच्च सम्मान व्यक्त गर्दछु’ उनले भने । मेयर पण्डितले खेलकुद क्षेत्रलाई विकास गर्न नगरपालिकाले पनि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा बोल्दै शुक्लागण्डकी नगरपालिका–६ का वडाध्यक्ष बुद्धिबहादुर थापाले खेलाडीलाई अनुशासित भएर खेल खेल्न आग्रह गरे । ‘खेलमा हार जित अवश्य पनि हुन्छ । हार भयो भन्दैमा कहिल्यै निरुत्साहीत नहुनु । हार नै तपाईको जिन्दगीमा सफलता हात पार्न सहयोग पु¥याउने माध्यम हो’ उनले भने ।
प्रगतिटोल दाजुभाई समुहका अध्यक्ष बसन्तबहादुर बाँनियाको सभापतित्वमा सम्पन्न कार्यक्रममा शुक्लागण्डकी नगरपालिका–७ का वडाध्यक्ष खड्क सिं थापा, नेपाली कांग्रेस वडा नम्बर ६ का वडा सभापति रबि केसी, समुहका उपाध्यक्ष अमृत घिमिरे लगायतले बोलेका थिए । आजबाट सुरु भएको प्रतियोगिता भोलि (शनिबार) सम्म संञ्चालन हुने छ । प्रतियोगितामा ११ टिम सहभागि रहेका छन् । प्रतियोगितामा प्रथम हुनेले नगद ३० हजार, द्धितीय हुनेले नगद २० हजार साथमा कप मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।