दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडा बजारमा मादल बनाउने र बेच्ने भन्ने बित्तिकै माईला दाईको नाम आउछ । मादलको व्यापार गरेर जीवनको धेरै बर्ष पार गरेका माईलाको छोरा दुर्गा बहादुर सार्की भने मादल बनाउन र बजाउन चासो राख्दैनन, तर गीत गाउन भने उनको खुब रुचि छ । पेशाले उनि डकर्मी हुन् । यो संगै उनले घर नजिकैके जग्गा भाडामा लिएर बंगुर पनि पालेका छन् । सानै उमेर देखि गित गाउन भनेसी हुरुक्क हुने दुर्गा बहादुर सार्की बुवाले बनाएको मादलमा ताल मिलाएर गित गाउन चाही खप्पिस छन् ।
परिवारको आर्थिक अवस्था कमजोरी रहेकै कारणले सानै उमेरमा विद्यालय छाड्न परेको दुर्गाबहादुरले सुनाए । ‘मैले पढ्न ४ कक्षा सम्म त पढेको हो । तर परिवारको आर्थिक अवस्था कमजोर रहेको कारण सानै उमेरमा विद्यालय छोड्न प¥र्याे’ उनले भने । मेहनती र शालिन स्वभावका दुर्गाबहादुर हरेक दिन काम गर्दै गित गुनगुनाई रहन्छन् । आफुले पढाई लेखाईमा प्रमाण पत्र देख्न नपाएता पनि गित गाएर प्रमाण पत्र लिने सपना देखेका बताए ।
सोही अनुरुप उनले आफ्नै गाउँ ठाउँको नाम जोडेर गीत पनि रचना गरेका छन् । तनहुँ जिल्ला, यो शुक्लागण्डकी टारको गाउँमा छ दुखी जिन्दगी दुले..गौंडा… सहरको छेउ….. एए भगवान्, दिनदुखीलाई बाच्नै गाह्रो भो अब मलाई बाच्ने आधार देउ दुर्गाबहादुरले गाएको यस गितमा आफ्नो बेदना मात्रै नभई आफ्नो जन्म भुमि प्रतिको मायालाई पनि उजागर गरेका छन् । उनले आफैले सिर्जना गरेको गीत रेकर्ड गर्ने गर्ने चाहाना रहेको बताए । ‘म आफैले शब्द, संकलन गरेर गीत रचना गरेको छु । गीत रचना गरे पनि रेकर्डिङ्ग गर्न पाएको छैन् । म आफैले ज्याला मजदुरी गरेर कमाएको पैसाले छोरा छोरी पढाउन र आफ्नै दैनिक गुजारा चलाउन पनि गाह्रो छ । आर्थिक अवस्थाले साथ नदिएको हुदाँ त्यो गित बजारमा ल्याउन पाएको छैन् । तर, ल्याउने प्रयास गर्ने छु’ उनले भने ।