दुलेगौंडा । तनहुँको व्यास नगरपालिकाको स्वतन्त्र मेयर पदका उम्मेद्वार दिपकराज जोशीमाथि कुटपिट भएको छ । आज दिउँसो व्यास नगरपालिका–८ रिस्तीमा रहेको गाविस भवन फेदी मतदान केन्द्रको निरीक्षण गर्न पुगेका जोशीमाथि नेपाली कांग्रेसका कार्यकर्ताले कुटपिट गरेको जोशीको आरोप छ ।
विहानैदेखी मतदान केन्द्रमा वौकुण्ठ न्यौपाने पक्षधर व्यक्तिले एकलौटी रुपमा मतदान गराएको, मतदान केन्द्रको शान्ति सुरक्षा बिगारेको, एजेन्टहरुलाई बस्न नदिईएको, साथै मेयर पदका प्रत्यासी जोशीले शान्ति सुरक्षाको स्थिती सुधार गर्न पटक पटक निर्वाचन अधिकृतलाई अनुरोध गर्दा पनि वेवास्था गरिएको हुदाँ जोशीले आपत्ति जनाउदै आएका थिए । त्यसै विच वैकुण्ठ पक्षधरका गुण्डाले जोशीमाथि आक्रमण गरेको नेकपा एमाले र जोशी समुहले निर्वाचन अधिकृतको कार्यालयलाई बुझाएको पत्रमा उल्लेख गरिएको छ ।
साथै उक्त पत्रमा जोशीलाई कुटपिट गर्ने कार्यमा संलग्नलाई कारबाही गर्न, मतदान स्थगित गर्न र उपचारको व्यवस्था मिलाउन अनुरोध गरिएको छ । तर, पनि निर्वाचन भने स्थगित गरिएको थिएन् ।
घाईते जोशीको टाउकोमा चोट लागेको छ । हाल जोशीलाई उपचारको लागि पोखरा लगिएको प्रहरी स्रोतले जनाएको छ ।