बैशाख २७
संजय अधिकारी
सप्तरी- स्थानीय तह निर्वाचनलाइ मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सप्तरीले यस जिल्ला संग जोडिएको अन्तर्राष्ट्रिय सिमाना यही मंगलबार राती देखि बन्द गर्ने निर्णय गरेको छ ।
‘खुला सिमाना भएको भारत तथा नेपालका सीमावर्ती जिल्लाहरूमा चुनाव हुने समयमा ७२ घन्टा सम्म अन्तर्राष्ट्रिय सिमाना बन्द गर्ने प्रचलन रहि आएको छ’ प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए। निर्बाचन आयोगले तयार पारेको सुरक्षा निर्देशिकालाइ पालना गर्दै जिल्ला प्रशासन कार्यालय सप्तरीले सीमा नाका बन्द हुने सम्बन्धि निर्णय गरेको हो । ‘यहि ३० गते हुने स्थानीय तह निर्वाचनलाइ स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्नका लागि भारतसँग सीमा जोडीएका सप्तरी जिल्लाका सम्पुर्ण सीमा नाकाहरू २०७९ बैशाख २७ गते रातको १२:०० बजे देखि बैशाख ३० गते रातको १२:०० बजे सम्म बन्द रहने जानकारी गराइन्छ’ जिल्ला प्रशासन कार्यालय बाट जारी गरिएको सुचनामा बताइएको छ ।
‘खुला सिमानाको कारणले चुनाव जस्तो बेलामा सुरक्षा खतरा रहने सम्भावना हुन्छ त्यसैले सीमा नाका बन्द गरे पछि सिमानामा सुरक्षाको अवस्था मजबुद बनाउन सहयोग पुग्छ’ जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरिक्षक अभिनारायण काफ्लेले बताए । सप्तरी जिल्लामा ७८ किलोमिटर लामो खुला सिमाना रहेको छ। सीमा प्रशासनको लागि भन्सार कार्यालय र विभिन्न स्थानमा सशस्त्र प्रहरी बल नेपालको बिओपीको तैनाथी रहेको छ । सीमा नाका बन्द गर्नाले भारत संग सीमा जोडिएका जिल्लाहरूमा देखा पर्ने सुरक्षा चुनौतीहरूलाइ सम्बोधन गर्न सहयोग पुग्ने सशस्त्र प्रहरी बल नेपालका एक अधिकृतले बताए ।
यसै गरी जिल्ला प्रशासन कार्यालय सप्तरीले अर्को सुचना जारी गर्दै यहि बैशाख २७ गते राति १२:०० बजे देखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभए सम्म् मादक पदार्थ बिक्रि बितरण तथा सेवनमा रोक लगाइएको व्यहोरा जनाएको छ।