दुलेगौंडा । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि शुक्लागण्डकीमा उम्मेद्वारी दिएका ३७ जनाले उम्मेद्वारी फिर्ता लिएका छन् । स्थानीय तह सदस्य निर्वाचनको कार्यतालिका अनुसार वैशाख ११ र १२ गते मनोनयन दर्ता गराएका उम्मेद्वारीले शनिबार दुई मेयर, एक उपमेयर, १३ वडाध्यक्ष सहित २१ वडासदस्यहरुले उम्मेद्वारी फिर्ता लिएको शुक्लागण्डकीका सहायक निर्वाचन अधिकृत लक्ष्मण लम्सालले जानकारी दिए ।
उनका अनुसार मेयर पदमा उम्मेद्वारी दिएका जनता समाजवादी पार्टीका पुष्यबहादुर हिराचन र नेकपा एकिकृत समाजवादीका कमल गैह्रेले उम्मेद्वारी फिर्ता लिएका छन् । यसैगरि नेकपा एकिकृत समाजवादीका रेखा बस्यालले पनि नगरको उपप्रमुखको उम्मेद्वारीबाट नाम फिर्ता लिएकी छन् ।
शुक्लागण्डकीमा नै स्वातन्त्रबाट उम्मेद्वारी दिएका ७ सहित विभिन्न राजनीतिक दलका ६ जनाले पनि वडाध्यक्षको उम्मेद्वारीबाट नाम फिर्ता लिएको सहायक निर्वाचन अधिकृत लम्सालले बताए । वडाध्यक्षबाट स्वतन्त्र उम्मेद्वारी फिर्ता लिनेमा विष्णुहरी गर्ताैला, दिपेन्द्र पौडेल, कृष्ण प्रसाद पौडेल, कृष्ण पौडेल, रामेश्वर भट्टराई, ऋषिराम महत र टेकनारायण कोईराला रहेका छन् । यसैगरि नेकपा माओवादी केन्द्रबाट डण्डबहादुर केसी, नारायण सिग्देल, नेकपा एकिकृत समाजवादीबाट जीवन भट्टराई क्षेत्री, रामबहादुर थापा, ओमबहादुर आले र नेपाली कांग्रेसबाट रविन्द्रविक्रम थापाले उम्मेद्वारीबाट नाम फिर्ता लिएका छन् ।
यसै गरि शुक्लागण्डकीमा २१ जनाले वडा सदस्यबाट उम्मेद्वारी फिर्ता लिएका छन् ।