दुलेगौडा । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको आम निर्वाचन सफल पार्न राजनितिक दलहरु पार्टीको नारा सहित गाउँ पस्न थालेका छन् । यसै बिच नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर २ ले पनि कार्यकर्तालाई जागु्रप गराउन अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।
भोलि (शनिबार) खैरेनीटार स्थित मगर समाज भवनमा स्थानीय निर्वाचनलाई केन्द्रित गरेर वडा स्तरका कार्यकर्ताहरुलाई अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको क्षेत्र नम्बर २ का सभापति चुडामणि खनालले जानकारी दिए । उनका अनुसार ‘घर-घर जाउँ कांग्रेस जिताउँ’ नारा सफल पार्न वडा भित्रका सक्रिय कार्यकर्तालाई प्रशिक्षण दिन लागिएको हो ।
कांग्रेसलाई घर–घर पुग्ने लक्ष्यका साथ नेपाली कांग्रेसका केन्द्रिय सदस्य तनहुँका रामचन्द्र पौडेल, शंकर भण्डारी, प्रदिप पौडेल र धु्रव वाग्लेलाई एकै ठाउँमा राखेर प्रशिक्षण गराउने सभापति खनालले जानकारी दिए ।