हलेदी । शिलादेवी युवा क्लबद्वारा आयोजित माघे संक्रान्ति कप सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिताको उपाधि नमुना युवा क्लब गाछेपानीले हात पारेको छ ।
माघे संक्रान्तिको दिन भएको फाइनल खेलमा नमुनाले आयोजक शिलादेवी युवा क्लब ‘ए’ लाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । प्रतियोगिताको पहिलो हाफमा शिलादेवीका रविन मगरले गोल गर्दै क्लबलाई अग्रता दिलाएका थिए । पहिलो हाफको अन्तिम समयमा नमुना क्लबका अनुज भण्डारीले गोल गर्दै खेललाई बराबरीमा पु¥याए । दोस्रो हाफमा पुनः भण्डारीले गोल गर्दै नमुना युवा क्लबलाई उपाधि दिलाउन सफल भए र घरेलु मैदानमा उपाधि जित्ने शिलादेवी लक्ष्यमा पुर्णविराम लाग्यो ।
नमुना गाछेपानीले उपाधि सहित नगद ५५ हजार ५५५ रुपैयाँको साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको शिलादेवी ‘ए’ ले ३३ हजार ३३३ रुपैयाँ चित्त बुझाएको छ । प्रतियोगितामा फेयर प्ले टिमको पुरस्कार ओरष्टे युथ क्लब स्याङ्जाले हात पारेको छ । प्रतियोगिता अवधिभर अनुशासित खेल प्रदशन गरेको हुदाँ ओरष्टेले ट्रफिको साथमा ३ हजार रुपैयाँ प्राप्त गरेको छ । नमुना युवा क्लबका अनुज भण्डारी सर्वाेकृष्ट खेलाडी, शिलादेवी युवा क्लबका अनुराग जिसी ईमर्जिङ्ग प्लेयर, भ्यालि युथ क्लबका अंकित थापा योङ्ग ट्यालेन्ट, शिलादेवी युवा क्लबका रबिन थापा बेष्ट फरर्वाड, हिमालयन युवा क्लबका कान्छा तामाङ सर्वाधिक गोलकर्ता, शिलादेवी युवा क्लबका सलिन तामाङ बेष्ट डिफेन्डर र नमुना युवा क्लबका शिवजि राई उत्कृष्ट गोलरक्षक घोषित भएका छन् ।