काठमाण्डौ । कोरोना सङ्क्रमण बढ्न थालेपछि सरकारले स्वास्थ्य मापदण्ड पालनामा कडाइ गर्ने भएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिसअनुसार जमघट, भेला, सभा, सम्मेलन र मेला महोत्सवमा कडाइ गर्न लागिएको गृह मन्त्रालयले जनाएको छ ।
सीसीएमसीसीको बैठकले बढी भीडभाड हुने सिनेमा घर, पार्क, सार्वजनिक ठाउँमा जाँदा अनिवार्यरूपमा खोप लगाएको प्रमाणपत्र देखाउनुपर्ने व्यवस्था लागू गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको छ । यस्तै सार्वजनिक ठाउँमा भेला र भीडभाड कम गर्न तथा होटेल, रेष्टुरेन्ट, सिनेमा हल, रङ्गशाला प्रवेश गर्दा अनिवार्य रूपमा कोभिडविरुद्धको खोप कार्डले मात्रै प्रवेश दिने व्यवस्था मिलाउने निर्णय भएको छ ।
बैठकले जिल्लाको अवस्था हेरेर थप कदम चाल्ने जिम्मा प्रमुख जिल्ला अधिकारीलाई दिएको छ । यस्तै आन्तरिक हवाई उडानका यात्रुलाई अनिवार्य खोप कार्डको व्यवस्था गर्न सिफारिस भएको छ ।