दुलेगौंडा । बाराही साहित्य प्रतिष्ठान तनहुँको दोस्रो साधारण सभा तथा काव्य श्रृङ्खला सम्पन्न भएको छ । शनिबार शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडा स्थित शिव पञ्चायन मन्दिरमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै शुक्लागण्डकी नगरपालिका–४ का वडाध्यक्ष शिवकुमार श्रेष्ठले कला र संस्कृतिको संरक्षण गर्नु सबै नागरिकको दायित्व रहेको बताए । ‘मानिसलाई जति भए पनि अपुग हुन्छ । यस अर्थमा हामीले हरेक कुरामा सन्तुष्टि लिन सके मात्र सुख प्राप्त हुन्छ । यसका लागि साहित्य र धर्मप्रति मानिसको आस्था हुनुपर्छ र यसको संरक्षण पनि गर्नुपर्दछ’, वडाध्यक्ष श्रेष्ठले भने । उनका अनुसार वडा कार्यलयले आर्थिक बर्ष २०७८÷०७९ को बजेटबाट कला र संस्कृतिको संरक्षण गर्ने हेतुले एक लाख रुपौयाँ बजेट विनियोजन गरिएको छ ।
प्रतिष्ठानका अध्यक्ष ठाकुर प्रसाद शात्रीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा टुकादेवी आर्चाय, डिल्लीरमण पौडेल, विजय पौडेल, खेमराज खनाल, कल्पना गैह्रे सुवेदी, दिलकुमार श्रेष्ठ, एकनारायण भण्डारी र लेखनाथ काफ्लेले साहित्य रचना प्रस्तुत गरेका थिए । साथै यामप्रसाद पौडेल, शरण गतौला, मुक्ति रेग्मी, ददिराज सिग्देल,बलराम ढकाल, जगत भट्टराई र पशुपति अर्यालले भजन प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष अनन्तराज पौडेलले शुभकामना मन्तव्य दिएका थिए भने क्लबका सचिव रामप्रसाद वाग्लेले कार्यक्रम सरुंञ्चालन गरेका थिए ।