काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन एकै पटक वैशाख १४ गते गर्न सरकारलाई सिफारिस गरेको छ ।
स्थानीय तह निर्वाचन ऐन, २०७३ को व्यवस्था बमोजिम स्थानीय तहका पदाधिकारीहरुको पदावधि ५ जेठमा समाप्त हुनेछ । संविधानको धारा २२५ मा स्थानीय जनप्रतिनिधिको कार्यकाल समाप्त भएको ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने भनिएपनि स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ३ बमोजिम कार्यकाल समाप्त हुनुभन्दा २ महिना अगावै निर्वाचन हुनुपर्ने व्यवस्था छ । सोही अनुरुप आयोगले वैशाख १४ गते देशभरी एकैपटक स्थानीय तहको निर्वाचन गराउन सरकारलाई सिफारिस गरेको हो ।
कुनै कारण एकै दिनमा निर्वाचन गर्न सम्भव नभए १४ र २२ वैशाखमा गर्न सकिने आयोगले बताएको छ । कार्यकाल समाप्त भएपछि स्थानीय तह सञ्चालनसम्बन्धी कुनै स्पष्ट कानूनी व्यवस्था नभएकाले वैशाखमा चुनाव गर्न उपयुक्त हुने आयोगले बताएको छ । जवाफमा प्रधानमन्त्री देउवाले दलहरुसँग छलफल गरेर आयोगको प्रस्ताव अघि बढाउने बताएका छन् ।