काठमाण्डौ – रोजगारको शिलशिलामा विदेश जाने नागरीकले विदेश जानुपूर्व कोरोना विरुद्धको खोप लागाउनुपर्दछ । तर कतिपय अवस्थामा खोप प्राप्त गर्न नसक्दा विदेश जान तयार रहेका नागरिक खोप प्राप्त गर्नका लागि विभिन्न ठाउँ धाउनुपर्ने हुन्छ । तर अहिले सरकारले विदेश जानेहरुलाई प्राथमिकता दिएर काठमाण्डौका विभिन्न अस्पतालबाट जोन्सन एण्ड जोन्सनको खोप दिन सुरु गरेको छ ।
सैनिक अस्पताल छाउनी, शिक्षण अस्पताल महाराजगञ्ज, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, सशस्त्र प्रहरी अस्पताल बलम्बु, वीर अस्पताल, निजामती अस्पताल बानेश्वर, प्रसूति गृह थापाथली र टेकु अस्पतालबाट खोप लगाउन पाइने खोप शाखा प्रमुख सागर दाहालले जानकारी दिए । यी अस्पतालहरुबाट जोन्सनसँगै कोभिसिल्ड र भेरोसेलको खोप पनि पाइन्छ । जोन्सनको खोप भने विदेश जानेहरुलाई प्राथमिकतामा राखेर दिन थालिएको उनले बताए ।
जोन्सनको खोप एक डोज मात्रै लगाउँदा हुने भएकाले विदेश जानेहरुले यही खोप खोज्ने गरेको छन् । गएको बिहीबार नेपालमा जोन्सन एण्ड जोन्सनको थप २१ लाख ७६ हजार ६ सय ५० मात्रा ल्याएपछि काठमाण्डौका अस्पतालहरुबाट वितरण थालिएको हो ।