दुलेगौंडा । मिर्गाैलामा समस्या देखिएका दुई महिने शिशु प्रकाश विकको उपचारको लागि जर्मनी संस्था नेपालीप्पेले आर्थिक सहयोग गरेको छ ।
दैलेखको ठाटीकाँध गाउँपालिका–४ गैरागाउँ घर भई विगत ३ बर्ष अगाडीदेखी दुलेगौंडा बस्दै आएकी शान्ताले परिवारको आर्थिक अवस्था कमजोर रहेका कारण प्रकाशको उपचारको लागि आर्थिक सहयोगको अपिल गरेकी थिइन् । प्रकाशको तत्कालै उपचार गराउन नसके मिर्गाैला नै ड्यामेज हुन सक्ने खतरा रहेको समाचार संञ्चार माध्यमबाट थाहा पाएपछि संस्थाको नेतृत्व गर्दै नारायणप्रसाद भुषाल र कार्ल हाईन्ज वुल्फले शनिबार तत्काल उपचारको लागि ५० हजार रुपैया आर्थिक सहयोग गरेका हुन् ।

संस्थाका सदस्य भण्डारीले उपचारको लागि एक लाख दस हजार रुपैयाँ दिने घोषणा गरेका छन् । उनले शनिबार स्थानीय गोमा श्रेष्ठ र पत्रकार हरि खरेलको रोहोबरमा ५० हजार रुपैयाँ तत्काल उपचार खर्च र ५ हजार यातायात खर्च शिशुका आमा शान्ता विकलाई हस्तान्तरण गरेका थिए । उनका अनुसार बाकी रकम उपचार गर्दै गर्दा शिशुका आमा शान्ताको खातामा जम्मा गरिदिने बताए । ‘हामी आशा गर्छाै । बच्चाको स्वास्थ्य लाभ होस्, उसको परिवारमा खुसी छाओस् ।’ उनले भने । यस संस्थाले नेपालमा दुखी परेका व्यक्तिको लागि सहयोग गर्दै आईरहेको भण्डाको भनाई छ ।
यता शिशुका आमा शान्ताले बच्चाको उपचार खर्चको लागि सहयोग पाएको हुदाँ खुसीको सीमा नै नरहेको बताईन । ‘मेरो खुसीको सिमा नै छैन् । मेरो बच्चाको उपचार हुन्छ भनेर आशा गरेको थिए । मेरो बच्चाले नयाँ जीवन पाउने भयो’ उनले भनिन् ।
विकले गत भदौ १६ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दोस्रो सन्तानको रुपमा प्रकाशलाई जन्म दिईकी थिईन् । जन्म पूर्व आठ महिनामा पेटको भिडियो एक्स–रे गर्दा बच्चाको मिर्गौला र पिसाब नलिमा समस्या देखिएको थियो । जन्म पश्चात अस्पतालले शिशुको भिडियो एक्स–रे गर्दा पिसाब नलि साँघुरो भएर मिर्गाैला सुन्निएको रिर्पाेट दिएकोे थियो ।